0 Shares

झापा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जीविका धान्दै आएका परिवारलाई झापाका एक युवाले दैनिकजसो खाद्यान्न सामग्री वितरण गर्दै आएका छन् ।

झापाको मेचीनगर–१२, कालीझोडाका दीपेन्द्र आछामीले जिल्लाका विभिन्न स्थानका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जीविका धान्दै आएका परिवारलाई ‘लकडाउन’ भएको दिनदेखि दैनिकजसो कम्तीमा १० परिवारलाई खाद्यान्न वितरण गर्दै आएका हुन् ।

आछामीले प्रतिपरिवार पाँच किलो चामल, एक किलो दाल, आधा लिटर खानेतेललगायतका खाद्य सामग्री वितरण गरेका हुन् । उनले शनिबार मात्र बिर्तामोड-५ मा रहेको सुकुम्बासी बस्तीका १० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरे । हालसम्म उनले कम्तीमा ५० घरपरिवारलाई सहयोग सामग्री वितरण गरिसकेको जानकारी दिए ।

उनले समस्यामा परेका १ सय ८० जनालाई रिचार्ज कार्डको समेत व्यवस्था गरिसकेका छन् । ‘लकडाउन’ भरि सहयोग जारी राख्ने समेत उनले बताएका छन् ।