चिरञ्जीवी घिमिरे,
झापा । सरकारले ११ चैत २०७६ देखि लागू हुनेगरी देशभर लकडाउन जारी गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दक्षिणी क्षेत्रमा दर्जनौँ मानिस जम्मा हुने साप्ताहिक हटिया अझै रोकिएका छैनन् । सिमावर्ती क्षेत्रका हटिया जारी रहे पनि स्थानीय तहका जनप्रतिनिधि भने बेखबरझैँ छन् ।

भारतसँग खुला सीमा जोडिएको जिल्लाको कचनकवल, बाह्रदशीजस्ता स्थानीय तहका गुद्री बजार अझै सञ्चालन भइरहेका छन्, जसका कारण कोरोना संक्रमण हुने जोखिम बढ्दै गएको छ । नयाँ वर्षकै दिन सोमबार बाह्रदशी– २ स्थित जनता बजारमा सोमबारे हटिया लाग्यो । त्यहाँ किन्ने र बेच्नेको भीड थियो । त्यहाँ प्रहरीको उपस्थिति पनि न्यून थियो ।

भारतीय सीमादेखि करिब ६ किलोमिटर मात्र उत्तरमा रहेको यो बजारमा भीडभाड हुँदा न जनप्रतिनिधिले खबरदारी गरे, न त प्रहरी प्रशासनले नै सुरुमा ध्यान दिन सक्यो । नागरिकहरूले आफैँ पालना गर्नुपर्ने दूरीसमेत पालना गरेका थिएनन् ।

न त अधिकांशले मास्कलगायतका सुरक्षाका सामग्री नै प्रयोग गरेका थिए । करिब एक घन्टा हटिया लागेपछि मात्र प्रहरी आएर भीड हटाएको थियो ।

जनता बजार मात्र होइन, दक्षिणी क्षेत्रका अधिकांश साना बजारमा दैनिक यस्तै भीडभाड हुन्छ । प्रहरीको संख्या सीमित तर जिम्मेवारी क्षेत्र फराकिलो भएकाले लकडाउन प्रभावकारी बनाउन नसकिएको प्रहरी नै स्वीकार गर्छ ।

‘दक्षिणी क्षेत्रमा प्रहरीको पहुँच कम नै छ । हामीले गुद्री बजार बन्द नै गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले भने, ‘प्रहरीको पहुँच सबै ठाउँमा पुग्न सक्दैन, जहाँ प्रहरी पुग्न सक्दैन, त्यहाँ यस्तो समस्या देखिएको छ ।’

एसपी कोइरालाका भनाइमा त्यहाँ मात्र होइन जिल्लामा ग्रामीण क्षेत्रका अन्य बजार पनि यसैगरी लाग्ने साप्ताहिक बजारहरू लागिरहेका छन् । ‘केही दिनअघि कचनकवलस्थित बनियानी बजार पनि लागेछ । गुनासो आएपछि त्यहाँका सबइन्स्पेक्टरलाई तानियो । अहिले त्यहाँ व्यवस्थित छ,’ उनले भने, ‘सबै ठाउँ प्रहरीले सक्दैन । स्थानीय सचेत नागरिक र जनप्रतिनिधिको पनि सहयोग आवश्यक पर्छ ।’

भारतसँगको सीमा खुला छ । खुला सीमासँग जोडिएकाले स्थानीय तहका अगुवाहरू यस्ता भीडभाड र नाका व्यवस्थापनमा गम्भीर हुनुपर्ने हो । तर, स्थानीय तहका जनप्रतिनिधि भने त्यति संवेदनशील छैनन् । बरु खुला सिमानाका बाबजुद कोरोना संक्रमणको चिन्ता लिनु नपर्ने कतिपय जनप्रतिनिधिहरू दाबी गर्छन् ।

‘सिमानामा भारतले नै कडाइ गरेको छ, तपाईं–हामीले चिन्ता लिएर केही हुँदैन,’ बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी भन्छन्, ‘हामीले त चिन्ता मात्र लिने हो, गर्ने सबै भारतले हो ।’

उनले किसानको उत्पादन बजारसम्म ल्याउनुपर्ने अवस्था रहेकाले हाटका लागि अवरोध नगरिएको बताए । ‘यहाँ वरिपरि कतै कसैमा कोरोनाको संक्रमण देखिएको छैन, फेरि यो त बाहिरबाट आएको भाइरस हो,’ उनले भने, ‘यतातिर कहीँकतै कोरोना नदेखिएकाले हाटबजार खुल्दैमा कसरी कोरोना सर्छ रु’ बाहिरबाट मान्छे आउन नदिने हो भने कोरोनाको समस्या आफ्नो क्षेत्रमा नदेखिने दाबी उनले गरे ।

झापाको दक्षिणी क्षेत्रको यो भेगको सीमाना भारतको बिहारसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष राजवंशीले वरिपरि कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गरे पनि बिहारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इण्डिया टुडेको अनलाइन संस्करणमा उल्लेख भएअनुसार ४ वैशाखसम्म बिहारमा ७२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ, २९ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ । नयाँ पत्रिकाबाट