भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई रु. २५ हजार जरिवाना गरेको छ ।

भद्रपुर ६ र ७ मा सञ्चालनमा रहेका किराना पसले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा समितिले सो जरिवाना गरेको जनाएको छ ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भद्रपुर बजारको पार्वती किराना पसल, सगरमाथा चोकको रिजाल किराना पसल, भद्रपुर–६ स्थित सरस्वती स्टोर, लक्ष्मी स्टोर, शिवशक्ति स्टोर, भद्रपुर–७ को हाम्रो किराना पसल र सुप्रिम स्टोरमा अनुगमन गर्दा चार वटाले मनपरी गरेको पाइएकोले जरिवाना गरिएको बताए ।

सरस्वती स्टोरलाई विल विजक जारी नगरेकोमा रु. पाँच हजार, खरिद विक्री खाता नराखेकोमा रु. एक हजार गरी रु. छ हजार, लक्ष्मी भण्डारलाई रु छ हजार, शिवशत्ति स्टोरलाई रु तीन हजार र सुप्रिम स्टोरलाई रु १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिएको उनले बताए ।

सहायक प्रजिअ राईले यी पसलेहरुले बजार मूल्यभन्दा बढीमा किराना सामान विक्री गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको बताए । तर, अनुगमन समिति पसलमा पुग्दा उनीहरुले तय गरेको मूल्यको दररेट, विल र खाता समेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएकाले जरिवाना गरेको उनको भनाई छ ।

लकडाउनको फाइदा उठाउँदै बजारमा कालो बजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको छ । समितिले उपभोक्ताहरुलाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्न समेत आग्रह गरेको छ । लोकतन्त्र पोष्टबाट