0 Shares

झापा । भारतको पश्चिम बङ्गालमा केन्द्र सरकारको असहयोगका कारण कोरोनाको परीक्षणमा ढिलाई भएको छ ।

पर्याप्त कीट उपलब्ध नगराएको भन्दै पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता वेनर्जीले केन्द्र सरकारसँग आक्रोश पोखेकी छन् । सबै कीट त्रुटिपूर्ण रहेको जनाउँदै केन्द्र सरकारको टोलीले फिर्ता लिएपछि राज्य र केन्द्र सरकारबीच आरोप प्रत्यारोप चुलिएको छ ।

‘मान्छे मर्दै गए भने त्यसको दोष कस्को हो’, मुख्यमन्त्री वेनर्जीले प्रश्न गरिन्, ‘एउटा–एउटा कीट दिएर मात्रै हुँदैन ।’ कलकत्ताको नाइसेडबाट लिइएका कीट त्रुटिपूर्ण रहेको भन्दै केन्द्रले फिर्ता गरेपछि कोरोना जाँच अवरुद्ध भइरहँदा बेनर्जीको आक्रोस चुलिएको हो ।

केन्द्र सरकारको आदेशमा दुई दिन पश्चिम बङ्गालमा कोरोनाको र्यापिड टेस्ट रोकिएको थियो । केन्द्रले पश्चिम बङ्गालमा परीक्षण सुस्त भएको आरोप लगाउँदै आएको छ ।

पश्चिम बङ्गाल राज्य सरकारका मुख्य सचिव राजेश सिन्हाले पछिल्लो २४ घण्टामा २६ नयाँ सङ्क्रमित फेला परेको बताए । यासँगै पश्चिम बङ्गालमा सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ ।

कोरोना सङ्क्रमण फैलिएयता १५ जनाले ज्यान गुमाएको मुख्य सचिव सिन्हा बताउँछन् । अहिलेसम्म पश्चिम बङ्गालमा कोरोना सङ्क्रमणपछि निको भएर ७९ जना घर फर्किएका छन् ।