अर्जुन राजवंशी,
बिर्तामोड । लकडाउनको २७ दिनपछि सामाजिक दुरी कायम गर्दै बगान खोलेका झापाका चिया किसान फेरि ‘लुपर’ कीराको मारमा परेका छन् । एक महिनायता यसले पथरिया, घेराबारी, केचनालगायत भेगका ८ सय बिघाभन्दा बढी क्षेत्रफलको चिया नष्ट गरिसकेको छ ।

लकडाउनका कारण भारत र वीरगन्जबाट औषधि ल्याउन नपाउँदा लुपरको संक्रमण फैलिएको किसानको दुखेसो छ । कैलो रंगको पुतली ‘लुपर’को लार्भाले नै चियाको पत्ती खाएर नष्ट गर्छ । अहिले उक्त क्षेत्रका बगानमा चियाका पातजति कीराले खाइसकेको छ । लार्भा चियाको हाँगाजस्तै खैरो रंगको हुने गरेको किसान बोरोराम राजवंशीले बताए ।

‘संक्रमण देखिन थालेपछि तत्काल औषधि गर्नुपर्थ्यो,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने, ‘लुपरको आक्रमण र लकडाउन सँगसँगै सुरु भयो । औषधि छर्किन पाएका छैनौं ।’ कचनकवल क्षेत्रमा मात्र १० लाख केजीभन्दा बढी हरियो पत्ती नष्ट भएको मित्तलको भनाइ छ ।

करिब ५ सय बिघा क्षेत्रफलमा रहेको उनको मित्तल टी स्टेटको पनि २ सय ५० बिघाजतिको चिया नाश भएको छ । लुपर कीरा मार्ने औषधि नेपालको वीरगन्ज वा भारतमा मात्र पाइने मित्तलले बताए ।

‘कीराले सबै पात खाइदिएर चार बिघाको बगान सबै टुटे भएको छ,’ बोरोरामले भने, ‘औषधी छर्किन पाउँदा त समस्या थिएन । तर, लकडाउनले केही गर्न पाएका छैनौं ।’

बगानमा रातो सुलसुले कीराको संक्रमण पनि देखिएको छ । ‘मेरो डेढ बिघाको बगानमा रातो सुलसुले कीराको संक्रमण छ,’ किसान चुनुलाल राजवंशीले भने । सुक्खा याममा देखिने रातो सुलसुले पानी पर्न थालेपछि कम हुने उनले बताए ।

तत्काल औषधि छर्किन पाए पनि लुपरको संक्रमण रोकेर नयाँ पत्ती उत्पादन गर्न डेढ महिना लाग्ने मित्तलले जानकारी दिए । कान्तिपुरबाट