0 Shares

नयाँ दिल्ली । पछिल्लो समय भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार साँझ दिएको जानकारीअनुसार गएको २४ घण्टामा मात्रै त्यहाँ दुई हजार चार सय ८७ संक्रमित थपिएका छन् भने ८३ जनाले ज्यान गुमाएका छन्। २४ घण्टामा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो।

त्यहाँ कुल कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार दुई सय ६३ पुगेको छ।

कोरोनाको संक्रमणबाट एक हजार तीन सय छ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। त्यस्तै १० हजार आठ सय ८७ जना उपचारपछि घर फर्किएका छन्।

कोरोनाभाइरसको संक्रमण धेरै नफलियोस् भनेर भारतमा मार्च २५ देखि लकडाउन गरिएको थियो। लकडाउन सुरू हुनुअघि भारतमा कोरोना संक्रमितको संख्या पाँच सय मात्रै थियो।

४० दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमण निरन्तर बढेपछि भारतले पछिल्लो पटक थप दुई साताका लागि लकडाउन लम्ब्याएको छ। एजेन्सी