गिरिराज बाँस्कोटा,
पाँचथर । नियमित पानी परिरहेकाले अलैँची बगानमा हरियाली देखिनु पर्ने हो। तर, जिल्लाको उत्तरी याङ्वारक–२ फलैँचाको तिमतिम्बुमा भने बगानै उजाड देखिन्छ। झुसिल कीरालै बोट नै खाइदिँदा बगानहरु सखाप हुन थालेका छन्।

अलैँचीको फूल लाग्ने बेलामा बगानमा झुसिल कीराको प्रकोप देखिएको हो। यो क्षेत्रको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको अलैँची बगान धमाधम सखाप हुन थालेपछि कृषकहरु चिन्तित बनेका छन्। झुसिल कीराले अलैँचीको पात, डाठ तथा फल खाइदिएर बगान नै नष्ट बनाएको छ।

यो क्षेत्रमा ठूल्ठूला अलैँँची बगान रहेका छन्। इँवाखोलाको काखबाट सुरु भएको प्रकोपले बगानै सखाप पारिरहेको छ। झुसिल कीराले एकपछि अर्को बगान गर्दै अलैँची नष्ट गरिरहेको याङवरक–२ का वार्ड अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए। ‘हेरिरहुँ लाग्ने अलैँची बगान अहिले विरक्त लाग्ने भएका छन्।

अलैँची फूल्ने बेला बगान नै सखाप भयो। १ हजारदेखि १५ सय रोपनीको अलैँची बगान नष्ट भयो। प्रकोप बढ्ने क्रममा छ’, उनले भने, ‘फलकै हिसाबमा करिब ५० लाख बराबरको क्षति भइसक्यो। बोट नै नष्ट भयो भने क्षति दोब्बरले बढ्छ।’

योङहाङले भनेझैँ बगान सोतरझैँ बनाएको छ। पछिल्लो १५ दिन यता अलैँचीमा झुसिलकीराको प्रकोप देखिएको हो। हरेक बर्ष उत्तिस लगायतको बोटमा गर्मी सुरु भएपछि झुसिल कीरा देखिने भए पनि यसरी अलैँचीलाई नष्ट गरेको थिएन। कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टका अनुसार अलैँचीमा देखिएको यो प्रकोप नौलो हो। उनका अनुसार सो क्षेत्रमा यो प्रकोपले ठूलो क्षति पु¥याइसकेको छ।

‘कीराले पात खाएर बगानै सुकाएको छ। अलैँची फूल खेल्ने बेलामा कीराले खाएपछि उत्पादन नहुने अवस्था छ। झुसिलकीराले विगतले त्यतिसारो हानी पु¥याएको देखिएको थिएन। अहिलेचैँ प्रकोपकै रुपमा आएको छ’, विष्टले भने, ‘एक बगानदेखि अर्को बगानमा सर्ने गरेको देखिएको छ।

ठूलो क्षेत्रमा अलैँची बगान तथा कृषकहरुको मुख्य आम्दानीको स्रोत भएकाले पनि चिन्ताको बिषय बनेको छ। क्षेत्रगत रुपमा एकीकृत रुपमा विषादी स्प्रे गर्ने भन्ने योजना बनाउँदैछौँ। रणनीति बनाएर नियन्त्रणको काम अघि बढाउनु पर्ने अवस्था छ।’

पशुपालन, मौरी पालन भएकाले पनि सबैतिर विषादी प्रयोग गरिहाल्न मिलिहाल्ने अवस्था छैन। कोरानो सन्त्रास चलिरहेका बेला अलैँचीले थप तनाव दिएको स्थानीय कृषक दिपक प्याकुरेलले बताए। ‘सिँचाई गरेर हुर्काइएका बगान नै नष्ट भएपछि आम्दानीको बाटो हराउने अवस्था छ। कृषिको टोली आएर अवस्था हेरेको छ। तत्काल नियन्त्रण भएन भने थप समस्या आउने देखिन्छ’, प्याकुरेलले भने, ‘बढो अचम्म गरी बगान नष्ट भइरहेको छ।’

यो बर्ष अलैँचीबाट फल टिप्न नहुने अवस्था पुगेको बताइएको छ। एकपछि अर्को बगानमा प्रकोप देखिएको छ। अलैँची रोपेपछि तीन बर्ष पछाडिदेखि फल दिन सुरु गर्छ। एकपल्ट लगाइएको बगान नष्ट नहुँदा १० देखि १५ बर्षसम्म उत्पादन दिन्छ। स्थानीय कृषकहरुका अनुसार यो क्षेत्रका बगान नै नष्ट हुने अवस्थामा पुगेको छ।

जिल्लाभरि नै झुसिलेको आतंक
फलैँचामा अलैँची नै नष्ट गर्ने किसिमको झुसिलकीराको आतङ्क भने जिल्लाभरि नै फैलिएको छ। बनक्षेत्रमा रुखमा टाँसिएर लामबद्ध भएका झुसिलकीरा रहेको विभिन्न क्षेत्रका बासिन्दाले बताएका छन्।

हावाले झुस उडाएर ल्याउँदा शरीर नै चिलाउने तथा जंगल गएर काम गर्न सक्ने अवस्था नभएको फिदिम–७ का ललित फेजुङले बताए। बढी उत्तिसका बोटमा झुसिले देखिएको छ। जंगलबाट घाँस ल्याएर पशुचौपायालाई खुवाउन समेत नसकिने अवस्था आएको विभिन्न क्षेत्रका बासिन्दाले बताएका छन्।