काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले वैशाख २५ गतेसम्म घोषणा गरिएको लकडाउन अझ बढ्ने बताएका छन् ।

मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकको निर्णय सुनाउँदै उनले लकडाउन निरन्तर अघि जाने बताएका हुन् । लकडाउन कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा बिडारीले यसको निर्णय मन्त्रिपरिषद बैठकले गर्ने बताए ।

‘कोभिड १९ संक्रमणलाई रोक्ने र शून्यमा झार्नेतर्फ सबै प्रयासहरू जारी राख्ने र हाम्रो मुलुकभित्र कसैलाई पनि मृत्युवरण गर्नुपर्ने स्थिति नआओस् भनेर अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भयो’, बिडारीले भने ।

लकडाउन कहिलेसम्म जान्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिडारीले भने, ‘यो अझ कन्टिन्यु हुन्छ ।’

उनले कोरोना रोकथामका लागि सरकारले गरेका अहिलेसम्मका प्रयासहरू सही दिशातर्फ उन्मुख भएको बताए । ‘मन्त्रिपरिषदको बैठकमा थप सल्लाह हुनेछन् तर अहिले जे जसरी सरकराले नीति अख्तियार गरेको छ, सही बाटो छ भन्ने हाम्रो निष्कर्ष रह्यो’, उनले भने ।