0 Shares

काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि करिब दुई दर्जन विद्यार्थी दूतावास अगाडि पुगेका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत विवादित सडकको शुक्रबार उद्घाटन गरेका थिए । यसको नेपालमा चौतर्फी विरोध सुरु भएको छ ।

तर, सरकारले भने हालसम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।