काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै नमर्ने बताएकी छिन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने र भोकै नपर्ने बताएकी हुन् ।

‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो,’ राष्ट्रपतिले भनिन् । गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था गर्ने भएको छ ।

विसं २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी सामाजिक र आर्थिक योजनाका कार्यक्रमहरु अगाडि बढाइएको छ । यस्तै २०८७ अगावै दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्नेमा सरकार दृढ रहेको राष्ट्रपतिले उल्लेख गरिन् ।

देशलाई कोरोना भाइरसमुक्त बनाउने सरकारको पहिलो प्राथमिकता भएको भन्दै राष्ट्रपति भण्डारीले यस महामारीबाट कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने सरकार दृढतापूर्वक लागेको बताइन् ।