शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रमा सञ्चालित खोप कार्यक्रम प्रभावकारी रहेको एक कार्यक्रममा जानकारी दिइएको छ ।

नगरको स्वास्थ्य शाखाले आयोजना गरेको पालिकास्तरीय खोप कार्यक्रम समीषा सुक्ष्म योजना अध्यावधिक कार्यक्रममा त्यस्तो तथ्यांक प्रस्तुत गरिएको हो । तथ्यांकअनुसार सरकारले प्रदान गरेको ११ वटा प्राणघात रोगविरुद्धका खोपमा सरदर ९० प्रतिशत पूरा भएको जानकारी दिइयो ।

कोरोना कहरका कारण वैशाख महिनामा खोप सञ्चालन हुन सकेन भने असार महिनामा खोप सञ्चालन गर्न बाँकी रहेकाले सरदर ९० प्रतिशत नतिजा आउनु प्रभावकारी नै भएको शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले सरकारले सञ्चालन गरिरहेको खोपका रोग कोरोनाभन्दा घातक रहेको बताए ।

उनले खोप कार्यक्रमको लक्ष्य प्रगतिको विश्लेषण गरी सवल पक्ष र सुधार गर्नुपर्ने पक्षको पहिचान, स्थानीय स्तरको खोपका प्रगति, ड्रप आउट दर, पहुँचबाट वञ्चित क्षेत्र, बस्ती र समुदायको पहिचान तथा गुणस्तरीय खोप सेवा प्रदान गरी पूर्ण खोप दिलाउन स्थानीय स्तरको सुक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सहभागी कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत हुने खोप कार्यक्रमका बारेमा सिनियर अहेव डम्बर मिश्र, अर्जुनधारा स्वास्थ्य चौकीका तर्फबाट सिनियर अहेव दुर्गा भट्टराई र खुदुनाबारी स्वास्थ्य चौकीको तर्फबाट सिनियर अहेव लक्ष्मण शाहले तथ्यांकसहित प्रतिवेदन पेश गरेका थिए ।

सरकारबाट अहिलेसम्म ११ वटा विभिन्न रोगविरुद्ध खोप प्रदान गर्दै आएको छ भने साउन महिनाबाट रोटा खोप पनि समावेश गर्ने भएको छ ।