नयाँदिल्ली । लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।

भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन ।

उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनालाई उद्धृत गर्दै इन्डिया टुडले लेखेको छ ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो । एजेन्सी