शनिश्चरे । नगर स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोगसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार झापाको अर्जुनधारामा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका मेयर हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, दीर्घ रोगी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजकर्ताद्वय जिल्ला स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत जीवन चौलागाईं र सिनियर अहेव दीपक सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नसर्ने रोगहरु जस्तै क्यान्सर, मुटु रोग, मिर्गौलासम्बन्धी रोग, दम, मधुमेह, रक्तचाप, नसर्ने रोगहरु रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयास, नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना, नसर्ने रोगको क्षेत्रीय तथा राष्ट्रिय लक्ष्यलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

सोही कार्यक्रममा सहभागीहरुमध्ये ४६ जनाको तौल र उचाइअनुसारको मोटोपन, रक्तचाप र मधुमेहको परीक्षण गरिएको शाखाका संयोजक मुकुन्द बस्नेतले जानकारी दिए ।