अर्जुनधारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको कृषि ज्ञान केन्द्र झापाले अर्जुनधारा नगरपालिकामा रहेका ३ वटा समुहलाई ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरेको छ ।

नगरमा धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रका समुहलाई आइतवार विभिन्न वडाका समुहलाई अनुदानमा सामाग्री हस्तान्तरण गरेको हो ।

धान पकेट दोस्रो बर्ष विकास कार्यक्रम अन्र्तगतको जुकेखाडी पकेट विकास सञ्चालक समिति अर्जुनधारा–३ लाई ५ लाख ८३ हजार ६ सय ५० रुपैयाँ अनुदान वापतको सामग्री दिएको छ । जसमा समिति तथा ज्ञान केन्द्रको जम्मा ११ लाख ६७ हजार ३ सय रुपैयाँ रहेको छ ।

हात्ति किल्ला कृषक समुह अर्जुनधारा ८ झापालाई ३ लाख ५२ हजार ३ सय १२ रुपैयाँ बराबरको सामग्री तथा समितिसहितको जम्मा ७ लाख ८४ हजार ६ सय २५ रुपैयाँ सामग्री उपलब्ध गराएको छ ।

त्यसैगरी अर्जुनधारा सृर्जनशिल तरकारी ब्लक सञ्चालन समिति अर्जुनधारा ११ लाई २४ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको सामग्रीसहित ४९ लाख ८७ हजार ६ सय रुपैयाँको आधुनिक कृषि औजार, धानको विउ, अर्गानिक मललगायतका सामग्री हस्तान्तरण गरेको कृषि ज्ञान केन्द्र झापाका अधिकृत निलकमल सिंहले जानकारी दिए ।

नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा ८ का अध्यक्ष गोपी गौतम, वडा नं ३ का अध्यक्ष जीवनकुमार भण्डारी, वडा नं ११ का अध्यक्ष भैरव खड्कालगायतको उपस्थिति थियो ।