झापा । कोरोना भाइरसको महामारी विश्वव्यापी देखिरहँदा चीनमा अर्को नयाँ फ्लू भाइरस देखिएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुलाई यस नयाँ भाइरसले पनि महामारीको रुप लिन सक्ने बताएका छन् ।

यो भाइरस सुँगुरमा भेटिएको हो र यो मानिसमा पनि सर्न सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित देखिएका छन् । इन्फ्लुएन्जा इन्भेष्टिगेटर रोबर्ट वेबस्टरका अनुसार यस भाइरसको सरंचनामा परिवर्तन हुने र मानिस मानिसबीच सर्न सक्ने किसिमको छ । त्यसैले यो पनि महामारीको रुपमा फैलिन सक्ने अड्कल लगाइएको छ । चीनमा सुँगुरको संख्या बढी भएकाले पनि यो भाइरस फैलिनसक्ने बताइएको छ ।

यो कस्तो भाइरस हो ?
चिनियाँ अनुसन्धनकर्ताको एक समूहले सन् २०११ देखि २०१८ सम्म सुँगुरमा देखिएको इन्फ्लुएन्जा भाइरसको अध्ययन गरेका थिए । उनीहरुले ‘एचवानएनवान’को एक प्रकार जिफो पाएका थिए जसले महामारी फैलाउन सक्ने युएस जर्नल प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेज नामक जर्नलमा उल्लेख छ ।

जर्नलमा वैज्ञानिकहरूले उक्त भाइरस नियन्त्रण गर्न सुँगुरपालन उद्योगमा काम गर्ने किसानहरुलाई, मासु काट्ने ठाउँ र मासु पाउने ठाउँमा निगरानी गर्न आवश्यक उपायहरू अपनाउनु पर्ने उल्लेख गरिएको छ । यो नयाँ भाइरस सन् २००९ मा सुँगुरमा देखिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो रहेको छ । अनुसन्धानकर्ताहरुले यो भाइरसलाई ‘जिफो इए एचवानएनवान’ नाम दिएका छन् ।

उनीहरुका अनुसार उक्त भाइरस संक्रमण भएमा मानिसको श्वासनलीमा कोषमा बढ्न र फैलिन सक्छ। यो भाइरस अहिले फैलिनसके पनि अनुसन्धानकर्ताहरुले मानिसमा सङ्क्रमण गर्न आवश्यक पर्ने कुराहरु यसमा भएकाले सतर्क हुनुपर्ने बताएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस चीनको वुहानबाट देखिएको हो । एजेन्सी