झापा । बिगत केही दिनदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकप्रति नेकपाका भातृ संङ्गठन, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी झापाले ध्यान केन्द्रित भएको जनाएका छन् ।

बैठकमा भएका गतिविधिहरुले नेकपाका कार्यकर्ता, समर्थक र शुभचिन्तकमा चिन्ता उत्पन्न भएको भन्दै उनीहरुले आज सोमबार नेकपाको जिल्ला कार्यालय बिर्तामोडमा दबाब दिए । बिगतमा पार्टीभित्रको बहस र छलफललाई ब्यवस्थितरुपमा संचालन गर्न नसक्दा पार्टी टुट र फुटको स्थितिमा पुगेको भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुको बिकल्प नभएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाका सह–संयोजक दधिराम रिमाल, अनेराश्ववियु जिल्ला कमिटी संयोजक अनिल सुवेदी, सह–संयोजक, दुर्गा धमलाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीको बहुप्रतिक्षित स्थायी कमिटी बैठकमा पार्टी एकता, आम पार्टी कार्यकर्ता, पार्टीका समर्थक एवंम शुभचिन्तक र जनसमुदायको भावना अनरुप छलफल गरी सकारात्मक निष्कर्ष निकाल्नका लागि राष्ट्रिय युवा संघ नेपाल झापा र अनेरास्ववियु जिल्ला कमिटीले नेकपाको पार्टी कार्यालयमा जिल्ला सचिव मणिकुमार साम्पाङलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टी केन्द्रमा देखा परेका बर्तमान मतभेदका बिषयमा गम्भीर, सैद्धान्तिक र राजनीतिक छलफलबाट पार्टीभित्रका आपसी मतभेद हटाई पार्टीलाई एकताबद्ध तबरले अगाडि बढाउनुको बिकल्प छैन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य प्रत्युस रानाले भने, पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्नुको बिकल्प छैन ।