काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कार्वाही गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको हो ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएपछि संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ ।

लकडाउन खुकुलो भएयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोगमा कमी आएको छ भने सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।