इलाम । इलाम प्रकृतिप्रेमीहरुका लागि मन लोभ्याउने गन्तव्य बन्दै गएको छ । चियाका थुम्का, झरना, पोखरी इलामका पर्याय हुन् । मन नै लोभ्याउने खालको वातावरणले जो–कोहीको मन तानिरहेको हुन्छ, इलामले ।

तर, लामो ‘लकडाउन’का कारण इलामको रौनक विस्तारै फिक्का हुँदै गएको छ । इलामको प्रकृति र यहाँको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन गर्नका लागि युवा–युवतीहरुको तँछाड–मछाड नै हुन्थ्यो, इलाममा । छिन–छिनमा परिवर्तन हुने यहाँको मौसम, हुस्सु र बादलुको लुकामारीले सबैलाई मन्त्रमुग्ध नै बनाइदिन्छ ।

तराईबाट गर्मी छल्न आउने हुन् वा चियाबारीमा रमाउँदै आफ्नो तस्वीर क्यामेरामा कैद गर्न आतुर हुनेहरु हुन्, यहाँको प्रकृतिसँग रम्दा सबैलाई बिर्सन पुग्छन् । चियाबारीको हरियालीमा प्रेम साट्न चाहने जोडीका लागि इलाम प्रमुख गन्तव्यको रुपमा विकास हुँदै गएको देखिन्छ ।

यहाँ पुग्ने जो–कोही किन नहोस्, एक्कैछिन भएपनि यहाँको वातवरणसँग हराउन पुग्छन् । इलामको श्रीअन्तुबाट बिहान देखिने सूर्योदयको मनमोहक दृश्य, सन्दकपुर डाँडाबाट देखिने हिमाल र डाँडाकाडा छिचोल्दै बहने कुहिरोले यहाँको सुन्दरतामा झन् चमक थपिरहेको देख्न सकिन्छ ।

पछिल्लो समय इलाम विवाहित नयाँ जोडी र फिल्म सुटिङका लागि पनि छनोटमा पर्ने गरेको छ । इलामको देउमाइको पानीटार, सूर्योदय देखिने कन्याम, श्रीअन्तु, फिक्कल, पशुपतिनगर, पाथीभरा माइपोखरी, सन्दकपुर डाँडालगायतका स्थान बाह्य र आन्तरिक पर्यटकका लागि घुमघामको केन्द्र बन्दै गएको छ ।

रातो अकबरे खुर्सानी, नौनीघ्यु, छुर्पी र ललिपप इलामबाट फर्केर जानेहरुको कोसेली बन्ने गरेको छ । ‘पूर्वको रानी’, ‘हरियो सुनको जिल्ला’, ‘सूर्योदयको जिल्ला’, ‘कोसेली बजार’ आदि उपनामले चिनिएको इलाम पछिल्लो समयमा ओलन, आलु, अलैंची, अम्रिसो, अकबरे खुर्सानी र अतिथि सत्कारमा पनि अग्रणी जिल्लाको रूपमा चिनिँदै आएको छ ।

इलामलाई इलम गर्नेहरुको जिल्लाको रुपमासमेत चिनिन थालेको छ । यहाँको अम्रिसो, अदुवा र चियाखेती सबैका लागि अनुकरणीय छ । सुन्तला, कागती, जुनारजस्ता फलफूलले इलामको सुन्दरतालाई बढाएकोमात्र छैन, अत्मनिर्भरतालाई पनि कसिलो बनाएको छ । हुस्सुले विस्तारै इलामबजार छोप्दा होस् या घाम लागेको घमाइलो दृष्यले होस्, सबैको मन तानिरहेको हुन्छ ।

तर, समय र युग फेरिएसँगै इलाम पनि फेरिँदै गएको छ । लामो लकडाउनका कारण इलाममा ओहोरदोहोर गर्नेहरुको संख्या पातलिएकोमात्र छैन, इलामको सौन्दर्यता पनि त्यसै फिक्का बन्दै गएको देखिन्छ । त्यसैले पनि पुरानै इलामको रौनकताको खोजीमा छ, इलाम । इमेज खबरबाट