सुजाता सुनुवार,
इलाम । तेजबहादुर तामाङ सूर्योदय नगरपालिका ६ इलाममा बस्नुहुन्छ । तामाङले ६ वर्ष अघिदेखि ‘घोडचढी’ व्यवसाय सुरु गर्नु भएको हो । यही व्यवसायबाट घरबार चलाउँला, ऋण तिरौँला अनि केही बचत पनि गरौँला भन्ने उहाँको सपना थियो ।

तर, कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनले सपना पूरा गर्न त दिएन, यही बेला उहाँको घोडासमेत मर्‍यो । दुई लाख रुपैयाँमा किनेको घोडाले ५० हजार रुपैयाँ मात्रै ऋण चुक्ता गरेको थियो ।

घोडा किन्दा लागेको एक लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाँकी हुँदाहुँदै लकडाउनमा घोडा मर्‍यो । अहिले उहाँलाई कसरी ऋण चुक्ता गर्ने भन्ने पीर लागेको छ । तामाङलाई घर चलाउन, छोराछोरी पढाउन भारतको बिहारबाट किनेर ल्याएको घोडाकै भर थियो ।

लकडाउनले घोडचढी व्यवसाय बन्द त गर्‍यो नै, तामाङको परिवारलाई हातमुख जोड्नसमेत धौधौ पारिदियो । घोडचढी व्यवसायबाहेक अरु सोच्दा पनि नसोचेकोले पाल्ने घोडा मरे पनि यही व्यवसाय गर्ने रहर जीवितै रहेको तामाङले बताउनु भयो ।

व्यवसाय चल्दा रामेले (घोडाको नाम) आठ सय रुपैयाँको दाना खान्थ्यो । लकडाउनको कारण व्यवसाय ठप्प भएपछि भने दुई सय रुपैयाँको दानामा नै सीमित भयो । दाना किन्न रकमको समस्या भयो ।

घोडालाई बाँधेको बाँधेकै गर्नु परेकोले कसरत पनि भएन । यही कारणले ६ महिनाअघि मात्रै किनेको तामाङको घोडा मरेको हो । योभन्दा अगाडि तामाङले दुई वटा घोडा किन्नु भएको थियो । सानो भयो, पर्यटकले रुचाएनन् अनि बेच्नु भयो ।

तेजबहादुरको यही पेसामा लत बसेको छ । यसैबाट परिवारले सहज जीवनयापन गर्न पाएका हुन् । ‘अब लकडाउन खुलेपछि फेरि ऋण लिएर अर्को घोडा लिने अनि लागेको ऋण तिर्ने । के गर्नु ? बाँच्नको लागि रहर त पाल्नै पर्‍यो नि !’ उहाँ घोडचढी व्यवसायमा अझै भविष्य देख्नुहुन्छ ।

महेन्द्र तामाङ भने आफ्नै लगानी भएकाले ऋणबाट जोगिनु भयो । तर, छोटो समयमा जुन स्थिति झेल्नु भयो, त्यसलाई उहाँ भुल्नै सक्नुहुन्न । सूर्योदय नगरपालिका ६ का उहाँ तीन वर्षयता घोडचढी व्यवसाय गर्दै आइरहनु भएको छ ।

अहिले लकडाउन छ । कमाइ छैन । हात लाग्यो शून्य छ । यही समयमा घोडा पनि मर्‍यो । ‘घोडा किन्दा लागेको दुई लाख ४० हजार रुपैयाँ फिर्ता नआउँदै डब्लु (घोडाको नाम) लाई बिदा गर्नुपर्दा कम्ता पीर लागेको छैन निु’, महेन्द्र भन्नुहुन्छ । फेरि व्यवसायमा फर्कन लकडाउन कहिले खुल्ला भन्ने प्रतिक्षामा उहाँ जस्तै ३९ जना व्यवसायी रहेका छन् ।

उनीहरुमध्ये १२ जना वैदेशिक रोजगारीबाट नेपाल फर्केर घोडचढी व्यवसाय सुरु गर्नेहरु रहेका छन् । यो व्यवसाय पालिकाबासीको मुख्य आयस्रोत बन्न पुगेको छ ।

इलामको कन्याम क्षेत्र विशेषगरी शुटिङ, पिकनिक र अवलोकन भ्रमणका लागि प्रमुख आकर्षणको केन्द्र हो । हरेक महिना पर्यटकको खचाखच हुने ठाउँ अहिले सुनसान छ । कन्याम सुनसान हुँदाको प्रत्यक्ष असर यहाँका व्यवसायीमा परेको छ ।

सिजन लागेको समयमा एक दिनमा ३९ घोडाले पाँचदेखि आठ पटकसम्म पर्यटकलाई घुमाउन पाउने गरेको घोडचढी व्यवसायी सङ्घका अध्यक्ष प्रेमलाल तामाङले जानकारी दिनुभयो । यस व्यवसायमा एक घरका २२ देखि ५३ वर्षसम्मका दुई जनासम्मले रोजगारी पाएका छन् ।

पहिलो रोजाइमा सरेसा जातका घोडा
व्यवसायका लागि ल्याइएका कन्यामका अधिकांश घोडा सरेसा जातका छन् । पर्यटकले यही जातका घोडा मन पराउने भएकाले व्यवसायीहरुले ऋण नै लिएर भए पनि यही जातका घोडा किन्ने गर्छन् ।

व्यवसायीहरुले आफ्नो पेसालाई निरन्तरता दिन ६० हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्मका घोडा भारतको पटना, दार्जिलिङ, बिहारलगायतका ठाउँबाट किनेर ल्याउने गरेका छन् । साना र छोटा जातको घोडालाई ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ तर ती पर्यटकको रोजाइमा पर्दैनन् ।

२५ वर्षअघि फोटो खिचेको एक रुपैयाँ लिएर एउटा घोडाबाट इलामको कन्याममा घोडचढी व्यवसाय​ सुरु भएको हो । अहिले यस व्यवसायमा ३९ वटा घोडा रहेका छन् । उज्यालो अनलाइनबाट