काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको प्रवक्ता गौतमले बताए। पछिल्ले २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गरिएको थियो।

कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना, सिराहाका एकजना, सुनसरीका ४ जना र उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धादिङका २ जना, काठमाडौंका ३ जना, नुवाकोटका एकजना, सर्लाहीका ३ जना र सिन्धुपाल्चोकका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना, किटजन्य रोग अनुसन्धाान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुलीका एकजना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, पर्वतका एकजना, स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ३ जना, तनहुँका ४ जना र स्याङ्जाका ३ जना, म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका एकजना, भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बाँकेका २ जना बर्दियाका २ जना र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ जना, चौरहजारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र सल्यानका एकजना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका एकजना र कंचनपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।

५० प्रतिशत निको भए
यसैबीच, नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।