झापा । मुलुकमा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घन्टाको अवधिमा ३४ डिस्चार्ज भएका छन् । कोरोना निको भएर घर फर्कनेको संख्या भने १० हजार ३२८ पुगेको छ । यो संख्या नेपालको कूल संक्रमितको आधारमा ६०.५३ प्रतिशत हो ।

प्रवक्ता गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ र आइसोलेसनमा ६ हजार ६९५ जना उपचाररत रहेको बताए ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९३ हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ४ हजार ३६१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।