झापा । लकडाउन सुरु भएपछि कोरोना भाइरस नियन्त्रणका लागि झापाको अर्जुनधारा नगरपालिकाले करिब साडे ८८ लाख खर्च भएको जनाएको छ ।

आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गरिएको गतिविधि र क्वारेन्टाइन व्यवस्थापनमा ८८ लाख ४० हजार ८३२ रुपैयाँ खर्च भएको जनाएको हो ।

उक्त खर्च नेपालमा लकडाउन सुरु भएदेखिकै हो । यसभित्र कोरोना भाइरस रोकथाम, क्वारेन्टाइन व्यवस्थापनसँगै लकडाउनमा विपन्न वर्गलाई राहत प्रदान गरिएको खर्चसमेत समेटिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

उनका अनुसार लकडाउन सुरु भएपछि कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले ९१ लाख रुपैयाँ कोभिड १९ कोषमा विनियोजन गरेको थियो । त्यस्तै, सहयोगी दाताहरुको तर्फबाट ८ लाख ३२ हजार ९९२ रुपैयाँ संकलन भइ नगरपालिकाको राहत कोषमा जम्मा भएको समितिका सदस्य सचिव तिवेन्द्र अधिकारीले बताए ।

उनका अनुसार १८ हजार ९८० केजी चामल र १० क्वीन्टल दाल हालसम्म मौज्दात रहेको छ भने अन्य खाद्य सामग्री क्वारेन्टाइनमा प्रयोग भइरहेको छ ।

समिति र जिन्सी शाखाबाट हालसम्म ३० लाख ३४ हजार १३७ रुपैयाँ खर्च गरेर भुक्तानी भइसकेको छ भने ५ लाख ३२ हजार ८६६ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

त्यस्तै, स्वास्थ्य शाखाले हालसम्म २६ लाख ४८ हजार २२६ रुपैयाँ खर्च गरेर भुक्तानी भइसकेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन व्यवस्थापनमा खर्च भएको २६ लाख २६ लाख १६ हजार ६०४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थानका लागि प्रदेश सरकार र संघीय सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन । प्रदेश सरकारबाट दिइने भनिएको १० लाख रुपैयाँ अहिलेसम्म प्राप्त नभएको नगरकी उपप्रमुख तथा समितिकी संयोजक कमला खतिवडा आचार्यले बताइन् ।

प्रस्तुत उक्त खर्च स्वास्थ्य शाखा, जिन्सी शाखा र समितिले नगरपालिकासमक्ष अनुमोदनका लागि पेस गरेको छ । नगरपालिकाले आगामी बैठकमा छलफल गरेपछि अनुमोदन हुने बताइएको छ ।

नगरको बजेट र दाताको सहयोगबाट लकडाउनका कारण समस्यामा परेका नगरका विपन्न परिवारलाई राहत प्रदान गरिएको उनले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म लकडाउन सुरु भएदेखि नगरका ३ हजार ४४५ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइसकिएको छ ।

त्यस्तै, १६५ क्वीन्टल चामल र ३७५ केजी दाल फरक फरक मितिमा वडा कार्यालयमार्फत राहत वितरणका लागि समितिले खाद्यान्न उपलब्ध गराएको पनि उनले बताइन् ।

नेपालमा लकडाउन सुरु भएपछि नगरपालिकाको स्वास्थ्य शाखाले चैत १२ गतेदेखि १२ बेडको क्वारेन्टाइन सञ्चालन गरेको थियो । हाल एक सयभन्दा बढी बेड विस्तार गरी सञ्चालन गरिएको क्वारेन्टाइनमा भारतलगायत तेस्रो मुलुकबाट अर्जुनधाराका ३८० जना क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये २४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने २५ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । हालसम्म १३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ भए पनि उनीहरु निको भएर घर फर्किसकेका छन् ।