लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो ।

कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।