बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारीको विर्तामोड शाखाले लघुवित्त कार्यक्रम अन्तर्गत सदस्य तथा सदस्यहरुको अभिभावकको मृत्यु भएपछि कर्जा मिनाहा गरेको छ ।

बिर्तामोड शाखाले आर्थिक वर्ष २०७७–०७८ मा पहिलो पटक पाँच लाख ७४ हजार रुपैयाँ मिनाहा गरेको शाखा प्रमुख घनश्याम रायले जानकारी दिनुभयो । संस्थाको शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी सदस्यको ऋण मिनाहा गरेको हो ।

विर्तामोड ५ का कार्यवाहक अध्यक्ष डीआर कडरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै कडरियाले सहारा साँच्चै विपन्नको सहारा बनेको बताउनुभयो ।

गोमादेवी गुरुङले ७० हजार, धिरज भार्गवले एक लाख १९ हजार, सीता ताम्राकारले एक लाख ५० हजार र विषण सेलिङले एक लाख ९० हजार रुपैयाँ छुट प्राप्त गर्नु भएको छ ।

सहाराबाट नै सुस्मिता लिम्वुले जीवन विमा वापतको एक लाख ४५ हजार रुपैयाँ प्राप्त गर्नु भएको शाखा प्रमुख रायले जानकारी दिनुभयो ।

‘सहारा नेपालले आफ्ना लघु वित्तका सदस्य तथा सदस्यका अभिभावकको कर्जाको सुरक्षण वापत विमा गरेर मात्र लगानी गर्ने गरेको छ’, शाखा प्रमुख रायले भन्नुभयो, ‘६ लाख रुपैयाँसम्मको कर्जालाई मिनाहा गर्ने गरेका छौं ।’