इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन ।

गणका ३७ जनाको श्वाव संकलन गरिएकोमा विहीबार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना सशस्त्र प्रहरीसहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना सशस्त्र प्रहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

६० जनामा ३७ जना सशस्त्र प्रहरी रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई झापा र मोरङको कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ संयोजक विमल बरालले बताए ।

बरालका अनुसार थप उपचारको लागि पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङस्थित गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर पठाइएको छ ।

सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंका लागेर सबैको परीक्षण गरिँदा पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिमको लक्षण भने नदेखिएको थापाको भनाई छ ।

इलाममा सशस्त्र प्रहरीका १६ जनासहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन् ।