विराटनगर । कोरोना संक्रमित निरन्तर बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङ, सुनसरी र झापाका एक–एक निजी अस्पताल र होटेललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले ती जिल्लाका एक-एक निजी होटेल र अस्पताललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैगरी विराटनगरको मारवाडी सेवा समाज भवनमा ५० शय्या, मोरङ रंगेली नगरपालिकाको जनता क्याम्पसमा सय, सुनसरीको बराहक्षेत्रस्थित कृष्णदास आश्रममा सय, हरिनगर गाउँपालिकाको जनरल अस्पतालमा ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकारको कोभिड–१९ रोकथाम प्रतिकार्य र नियन्त्रण कार्ययोजना पनि आइतबार स्वीकृत गरेको छ । प्रदेश १ मा आइतबारसम्ममा कोरोना संक्रमित एक हजार चार सय २३ पुगेका छन् ।

प्रदेशमा संक्रमित बढेकाले सरकारद्वारा स्थापित उपचार केन्द्रहरू सबै भरिएका छन् । सोही कारण बिरामीहरू घरमै बस्न बाध्य हुन थालेका छन् ।

बिरामीहरू घरमा बस्नुपर्ने अवस्था आएपछि स्थानीय तहहरूले क्वारेन्टाइनहरूलाई आइसोलेसन सेन्टरका रूपमा विकास गर्न थालेका छन् । (नयाँ पत्रिकाबाट)