झापा । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार अर्जुनधारा २ खुदुनाबारीस्थित राजेन्द्र अधिकारी मृत भेटिएका छन् । उनको शव नजिकैको जंगलमा शनिबार फेला परेको हो ।

गएको भदौ १ गते सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेका थिए ।

श्रीमतीलाई घाइते बनाएर नजिकको जंगलतिर पसेका अधिकारीलाई स्थानीय प्रहरी र गाउँले खोज्दा फेला परेका थिएनन् । तर, सोही दिन अधिकारीले पासो लगाएर आत्महत्या गरेको हुनसक्ने शनिश्चरे प्रहरी चौकीका इन्चार्ज सइ सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

घटनापछि एउटा डोरी र प्रयोग गरिएको खुकुरी लिएर अधिकारी जंगल पसेको र घटनास्थलबाट एक किलोमिटरको दूरीमा रहेको जंगलभित्र सखुवाको रुखको हाँगामा पासो लगाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सइ बस्नेतका अनुसार अधिकारीले बोकेको खुकुरी भूइँमा अलिकति गाडिएको अवस्थामा र उनको मोबाइल गोजीमै फेला परेको छ । उनको मोबाइल तीन दिनसम्म सम्पर्कमा रहेको थियो । त्यसपछि स्वीच अफ भएको प्रहरीले जनाएको छ ।

अधिकारीको शव कुहिएको, कीरा परेको र आँखा निस्किसकेको अवस्थामा फेला परेकाले श्रीमतीलाई हतियार प्रहार गरेको घटना भएकै दिन आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको भनाइ छ ।

जंगलमा भएको घटनापछि गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयले खोजतलास गर्दा अधिकारीको शव फेला परेका थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाइएको थियो ।

श्रीमतीको हात, छाती, गर्धनमा अन्धाधुन्ध खुकुरी प्रहार गरेर राजेन्द्र जंगलतर्फ भागेका थिए । खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको अनुमान गरेर अधिकारीले पनि आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

भदौ १ गते बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा राजेन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । गम्भीर अवस्थाका श्रीमतीलाई बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

आत्महत्या गरेका अधिकारीको शव शनिबार पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको र अन्त्येष्टि पनि भइसकेको बताइएको छ ।