बिर्तामोड । नेपाली काङ्ग्रेसले झापाको झापा गाउँपालिकामा भएको घटनाको छानविन गर्न माग गरेको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न माग गरेका हुन् । घटनाको पृष्ठभूमि सुसंस्कृत नभए पनि पूर्वसजगता नअपनाउँदा गम्भीर क्षति भएको काङ्ग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्, ‘गोली चल्नु र चलाउनु नै पर्ने स्थितिको तर्कमा नपुग्न पूर्वसजगता नराख्दा गम्भीर क्षति भएको छ । गहिरो छानविनको माग गर्दछु ।’

झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा हिजो विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका स्थानीय ३८ वर्षीय रसिकुल आलमले बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए ।