झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार भएको गोलीकाण्डको छानविन गर्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारकिो नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको छ ।

बुधबार गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्नेक्रममा प्रहरीले गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएपछि स्थानीय थप आन्दोलित बनेका थिए ।

विवाद साम्य बनाउन बिहीबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा मृतकका परिवारसँग ७ बुँदे सहमति भएको छ । प्रमुख राजनीतिक दल, मृतकका परिवार र प्रशासनिक निकायका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गरेको छ । समितिले घटनाको छानविन गर्नेछ ।

छनविन समितिमा नेपाल प्रहरीका एक जना डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख रहेका छन् । यसैगरी, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय भएको छ ।

मृतकका बालबच्चाको शिक्षा दीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र सबै पक्षले सामाजिक सद्भाव बिग्रिन नदिने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ ।

बुधवार प्रहरी टोलीसँगको झडपमा झापा गाउँपालिका वडा नं ३ का ३८ वर्षीय रफिकुल आलमको मृत्यु भएको थियो ।