झापा । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढिरहँदा अग्रभागमा काम गरिरहेका सञ्चारकर्मी पनि संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघको अभिलेखअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ ।

महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् । जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् ।

त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौंमा ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् ।

यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेको महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।