झापा । कोरोना भाइरसको संक्रमणबाट समुदायका एक जनाको ज्यान गएको झापाको कमल गाउँपालिकाका बृद्धको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

शुक्रबार बिहान कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कमल गाउँपालिका–३ का ८३ बर्षिय वृद्धको मृत्यु भएको थियो । मृत्यु भएका ती वृद्धको कमल-३ मा पर्ने रतुवामाई वृक्षारोपणस्थित लाओरबोटेमा अन्त्येष्टि गरिएको छ ।

शवको अन्त्येष्टि नयाँ श्रीनाथ गण चारआलीको सेनाको शव व्यवस्थापन टोलीले गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई ९ दिनअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उनको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो । झापामा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि कोरोना संक्रमणका कारण दमक नगरपालिका-१ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको थियोे ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार ती वृद्धलाई बीएण्डसी हस्पिटल बिर्तामोडले रेफर गरेर वीपी पठाएको थियो । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए ।

मृतकको मिर्गौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा सापकोटाले जानकारी दिए ।

टोलभरि संक्रमण
मृत्यु भएका ती बृद्धको टोलभरि संक्रमण फैलिसकेको छ । आसपासकै १५ जनामा संक्रमण देखिइसकेको छ। त्यसमध्ये शुक्रबार ५ वर्षका एक बालक, दुई महिला र ६ पुरुष गरी ९ जनालाई पुष्टि भएको हो ।

त्यस्तै सोही केर्खा बजारका संक्रमण देखिएका ५६ वर्षिय मोबाइल पसल संचालकका परिवारका अन्य तीन सदस्यलाई शुक्रबार नै संक्रमण पुष्टि भएको छ । ती संक्रमितका छोरा , आमा र सालोलाई संक्रमण देखिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताइन् ।

शुक्रबारमात्र ९ जनामा संक्रमण पुष्टि भएसँगै समुदायका १५ जनामा कोरोना संक्रमण भइसकेको छ । यो संक्रमणले कमल गाउँपालिका असुरक्षित भएकाले स्थानीय त्रसित बनेका छन् ।

मृतकका आफन्तमा संक्रमण

मृतकको परिवारमा तीन जना संक्रमित छन् । मृतकका नातिलाई शुक्रबार नै संक्रमण पुष्टि भएको हो । यसअघि नातिनीलाई संक्रमण देखिएको थियो । उनको आइसोलेसनमा उपचार भइरहेको छ ।

कर्फ्यू लगाउने तयारी

गाउँपालिकाले समुदायमा संक्रमण रोक्नका लागि भदौ ६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यसका बावजुद आवतजावत नरोकिएकाले कर्फ्यू नै लगाउनु पर्ने खाँचो देखिएको अध्यक्ष काफ्लेले बताइन् ।