दमक । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४ गतेदेखि भाद्र २० गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य समाग्री खरिद गर्नका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अपनाएर बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने बताइएको छ ।

औषधि पसलहरु र अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । सबै अस्पताल क्लिनिकहरू बन्द रहेनछन् । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।

निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।

यसअघि कायम गरेको निषेधाज्ञा भोलि भाद्र १३ गते राति १२ बजे सकिंदैछ । अझै कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।

दमकमा मात्रै हालसम्म ८१ जना कोरोना संक्रमित भएका छन् भने ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।