अमित खम्बू,
झापा । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/०७८ देखि नगरमा ‘लोकल कुखुरा पकेट क्षेत्र’ घोषणा गरी कम्तिमा छ सय जनालाई व्यावसायिक कृषक बनाउने नीति लिएको छ ।
नगरले पशुपंक्षी मत्स्य नीति अन्र्तगत चालु आर्थिक वर्षमा स्थानीय कुखुरा विकास कार्यक्रम शीर्षकमा ३९ लाख ८२ हजार रुपैयाँ र कुखुरा पालन प्रबद्र्धन कार्यक्रम शीर्षकमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाद्वारा सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
वार्षिक छ लाख केजी मासु उत्पादन गर्दै अनुमानित ३० करोड रुपैयाँ नगरमा भित्र्याउने लक्ष्यसहित नगरलाई लोकल कुखुरा उत्पादनमा आत्मनिर्भर बनाउन नगरले उक्त नीति लिएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए ।
विनियोजित बजेटमध्ये ह्याचरी स्थापना (ह्याचरी मेसिनलगायत अन्य सामग्री खरिद) गर्न छ लाख रुपैयाँ, १५ केभीको जेनेरेटर खरिद गर्न ढुवानीसहित चार लाख रुपैयाँ, एक सय १० वटा कुखुराको माउ र भाले खरिद गर्न एक लाख ८० हजार रुपैयाँ, ब्रुडिङ (चल्ला हुर्काउने कार्यको लागि र चल्लामा कृषकलाई प्रोत्साहन) गर्न १७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी भ्याकिसनेशन (रानीखेत, गम्बारो, म्याक्स, फलफक्स आदि)का लागि एक लाख १० हजार रुपैयाँ, नगरका सबै वडामा समूह गठन गर्न ३३ हजार रुपैयाँ, कुखुरा पालन तालिमका लागि एक लाख १० हजार रुपैयाँ, जुकाको औषधि खरिद तथा वितरण गर्न दुई लाख ७५ हजार रुपैयाँ, प्यारेन्ट स्टकको लागि खोर निर्माण गर्न पाँच लाख रुपैयाँ र सर्भिलेन्सका लागि २४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको लागि स्वीकृत उक्त नीति कार्यान्वयन गर्न नगर पशुपंक्षी मत्स्य तथा कछुवा विकास शाखाले आगामी भदौदेखि नै काम सुरु गर्ने शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । त्यसको लागि सरोकारवालाहरुसँग कार्यक्रम सञ्चालन गर्ने विषयमा अभिमुखिकरण, प्रत्येक वडाको टोलमा समूह गठनलगायतका कामहरु गर्ने प्रमुख राईले बताए ।
हाललाई उक्त कार्यक्रमको लागि आवश्यक पर्ने ५५ हजार चल्लामध्ये ६० प्रतिशत बाहिर ह्याचरीबाट ल्याइने र चालु आर्थिक वर्षको अन्तिम चौमासिकसम्म नगरभित्रै चल्ला उत्पादन गर्ने लक्ष्यसहित ‘नमूना ह्याचरी’कोरुपमा १० हजार क्षमताको मिनी ह्याचरी स्थापना गर्ने कार्यक्रम रहेको उनले बताए ।
विशेषगरी नगरभित्र रहेका सहकारीहरुसँग साझेदारी गरि कार्यक्रम सञ्चालन गर्ने उक्त कार्यक्रमको कार्यविधिसमेत तयार भइरहेको प्रमुख राईले बताए ।
शाखाको तथ्याङ्क अनुसार हाल नगरमा एक सयभन्दा बढी लोकल कुखुरा पाल्ने व्यावसायिक कृषकको संख्या सात जना तथा पाँच सय र हजार क्षमताको दुई वटा ह्याचरी रहेको बताइएको छ ।