विराटनगर । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका आफन्त सम्पर्कबिहीन भएपछि मृतकको शव अस्पतालमै अलपत्र परेको छ ।

९ भदौं राति विराटनगरको न्यूरो अस्पतालमा ज्यान गुमाएका महोत्तरीका ६१ वर्षिय पुरुषको शव अस्पतालमै अलपत्र परेको हो ।

मृतकका आफन्त सम्पर्कबिहीन छन् । स्थानीय प्रशासन र महोत्तरीमा समन्वय गर्दा पनि शव बुझ्ने कोही नआएको अस्पतालले जनाएको छ ।

मृतकको शव अस्पतालको शव गृहमा छ । मृतक पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । तर, मंगलबार राति मृत्यु भएको हो ।

मृत्युपछि आफन्त नै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मृतककको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । तर, मृत्युपछि भने छोरा पनि सम्पर्कबिहीन छन् ।

मृत्युलगतै शव व्यवस्थापनमा स्थानीय प्रशासनसँग आग्रह गरिए पनि ढिलासुस्ती भएको उनले बताए ।

कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ । तर, मोरङ र महोत्तरी प्रशासनबीच समन्वय हुन नसक्दा शव तीन दिनदेखि अस्पतालमै अपलत्र परेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मृतक व्यक्ति महोत्तरीको बासिन्दा भएकाले शव व्यवस्थापन गर्न समन्वय भइरहेको बताए ।