फिदिम । पाँचथरको राँकेमा कार्यरत सशस्त्र प्रहरीका एक जना जवानमा कोरोना संक्रमण देखिएको छ । फाल्गुनन्द गाउँपालिकामा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख नारदमणी सुवेदीले जानकारी दिए ।

उनी केही दिनअघि संक्रमित मजदुरको सम्पर्कमा रहेका थिए । राँके रबी सडक खण्डमा कार्यरत मजदुरलाई संक्रमण भएपछि उनलाई आइसोलेसनमा ल्याउन उनीसहितको टोली गएको थियो ।

टोलीमा गएका अन्य चार जना प्रहरीको भने नतिजा नेगेटिभ आएको छ । उनलाई फिदिम–४ जोरसालमा रहेको सशस्त्र प्रहरी हिमशिखर गुल्मको आइसोलेसनमा राखेर उपचार गरिने गुल्मपति किशोरकुमार श्रेष्ठले बताए ।

थप भएका सशस्त्र प्रहरीसहित पाँचथरमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । उनीहरुमध्ये ८ जना आइसोलेसनमा उपचाररत रहेका छन् । ५ जना निको भएर फर्किएका छन् ।

योसँगै संक्रमित प्रहरीको संख्या ५ जना पुगेको छ । यसअघि नेपाल प्रहरीका ४ जना संक्रमित थिए ।