विराटनगर । कोरोना भाइरसको महामारीका समयमा भारतबाट ठूलो परिणामको लागुऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट प्रहरी नायव निरीक्षक दीपक यादवको नेतृत्वमा गएको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई शनिबार साँझ पक्राउ गरेको हो ।

साइकलमा भारतबाट लागुऔषध लिएर आउँदै गर्दा उनी भण्टाबारी चौक नजिक पूर्व–पश्चिम राजमार्गबाट पक्राउ परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ साइकलमा आउँदै गरेका उनलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो । खानतलासी गर्ने क्रममा सुशीलले साइकलमा झुन्ड्याएको नाइलनको झोलाबाट ठूलो परिणामको लागुऔषध बरामद भएको हो ।

झोलाबाट लागुऔषध डाइलेक्स डीसी ३३ बोतल, स्पास्मोप्रोक्सिभन पाँच सय २२ क्याप्सुल, र नाइट्रोसन एक सय चक्की बरामद भएको डीएसपी शर्माले बताए । उनका अनुसार कोरोना महामारीको पछिल्लो समयमा बरामद भएको लागुऔषध अहिलेसम्मकै उच्च परिणामको हो ।

सुशीलले लागुऔषध भारतको भीमनगरबाट ल्याएको खुलेको छ । कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएका उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको शर्माको भनाइ छ ।

पक्राउ परेका सुशील आफै लागुऔषधका कारोबारी हुन् कि भरिया मात्रै भन्ने खुल्न बाँकी छ । उनले दिएको सूचनाका आधारमा अनुसन्धानको दायरा फराकिलो पार्दै कानुनद्धारा बर्जित लागुऔषध ओसारपसार एवं कारोबारमा संलग्न अन्यको पनि खोजी जानकारी डीएसपी शर्माले दिए ।