भद्रपुर । मेची प्रादेशिक अस्पतालको नयाँँ भवनबाट कोरोना संक्रमितको उपचार हुने भएको छ । आइतबारदेखि अलग्गै भवनबाट संक्रमितको उपचार सुरु गर्ने तयारी भएको हो ।

कोरोना संक्रमित र अरु बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा थप जोखिम बढ्ने भएपछि अस्पताल प्रशासनले नवनिर्मित भवनबाट संक्रमितको उपचार सुरु गर्ने तयारी भएको जनाएको छ।

अस्पताल प्रशासनले नयाँ भवनमा संक्रमितको उपचारका लागि ८० वटा बेड तयार पारेको छ । नेपाली सेनाले उपचार केन्द्रको सुरक्षाको जिम्मेवारी लिने गरी नयाँ भवनबाट कोरोना संक्रमितको उपचार गर्न लागिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि मेची प्रादेशिक अस्पतालमा डाक्टर गोविन्द कडेलको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ ।