झापा । पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटीडाँडा खण्डमा पहिरो खसेको हो ।

गएरातिको भारी बर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए ।

उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डो पारेकाले पहिरो गएको बताए । यो राजमार्गले सुदूर पूर्वको इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्छ ।

यसैबीच, बर्षाका कारण रोङको विभिन्न स्थानमा पहिरो गएको प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार रोङ–६ बन्सुवाका बलबहादुर राईको घर पहिरोले बगाएको छ । राईको परिवारसहित अन्यलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । बर्षा र पहिरोका कारण गाउँपालिकाका अधिकाशं वडामा सडक र विद्युत अबरुद्ध भएको छ ।