काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको अन्तर्राष्ट्रिय उडान पाँच महिनापछि मंगलबार रातिबाट नियमित सुरु भएको छ ।

सरकारले गत भदौ ४ गते स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै उडान सुरु गर्ने निर्णय गरेपछि व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।

पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान हुने सरकारले स्पष्ट पारिसकेको छ । नियमित अन्तर्राष्ट्रिय उडान अन्तर्गत मंगलबार राति एक बजे नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले जापानको नारिताका लागि उडान भरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यसबीचमा नियमित उडान नहुने राष्ट्रबाट चार्टर्ड उडान समेत गरिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

कोरोना कहरपछि गत चैत १० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान नभए पनि विदेशमा अलपत्र नेपाली ल्याउन नेपाल र विदेश दुबैतर्फबाट चार्टर्ड उडान भएका थिए ।

पाँचौँ चरणको उद्धार उडान अन्तर्गत नेपाल एयरलाइन्सले दोहाबाट १ सय ३८, कुवेतबाट १ सय ५२ र हिमालयले दोहाबाट १ सय २६ जनालाई नेपाल ल्याएको छ । कुवेतबाट नेपाल एयरलाईन्सले आजै १ सय ५२ जनालाई काठमाडौं ल्याउनेछ ।

उद्धार उडानमार्फत हालसम्म ५५ हजार १ सय ४६ जना नेपाली स्वदेश फर्किसकेका छन् । यसै अवधिमा नेपालबाट २२ हजार १ सय ९६ जना यात्रु बाहिरिएका छन् ।

विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पीसीआर रिपोर्ट आएपछि मात्र उनीहरुको होटल बसाई र घर जाने बारे निक्यौल हुनेछ ।