झापा । अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी अर्जुनधारा ८ का पुरुष हुन् ।

भारतबाट आएका उनी होटल क्वारेन्टाइनमा बसेका थिए । गएको भदौ १५ गते गरिएको स्वाब संकलनको रिपोर्टमा उनको पोजेटिभ आएको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । रिपोर्ट आज बिहीबार बिहान आएको हो ।

होटल क्वारेन्टाइनमा उनी एक्लै बस्दै आएका थिए । शनिश्चरे माविको क्वारेन्टाइनका सहित ७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो ।

होटल क्वारेन्टाइनमा बसेका व्यक्तिको पहिलोपल्ट रिपोर्ट पोजेटिभ आएको हो । होटल क्वारेन्टाइनमा पोजेटिभ रिपोर्ट आएपछि तीन दिनका लागि होटल सिल गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार भारतबाट आएर होटलमा एक्लै बसेकाले आत्तिनुपर्ने अवस्था छैन । होटल तीन दिन सिल गरेर होटलका कर्मचारीको स्वाब संकलन गरिने भएको छ ।

यसैबीच, हिजो बिर्तामोडमा पोजेटिभ आएकामध्ये २ जना अर्जुनधारा नगरपालिका निवासी रहेको पाइएको छ ।

बिर्तामोड नगरपालिकाले स्वाब संकलन गरेका अर्जुनधारा ११ निवासी दुई जना व्यक्ति हुन् । उनीहरु एकै घरका दिदी भाइ हुन् ।

अर्जुनधारा स्वास्थ्य शाखाले दिदीभाइको रिपोर्ट पोजेटिभ आएपछि आसपासमा सिल गर्ने कार्य गरिसकेको छ । आमालाई भरतपुर क्यान्सर अस्पताल लगेर ल्याएका उनीहरुले बिर्तामोडमा स्वाब संकलन गराएका थिए ।

अर्जुनधारामा योसँगै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ जना समुदायका व्यक्ति हुन् ।