बिर्तामोड । बिर्तामोड-गरामनी सडकखण्ड निर्माणका लागि आशिष प्रेरा जेभी कम्पनीले फेरि म्याद थपका लागि निवेदन दिएका छन् । कम्पनीले २०७५ असार २४ गते ठेक्का पाएकाे हाे । ठेक्काअनुसार २०७६ पुष २४ सम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

त्यस अवधिमा राम्ररी काम नै शुरु नगरेका ठेकेदारले २०७७ साउन २९ गतेसम्म म्याद थप गर्न लगाए । थपिएको ७ महिनाको अवधिमा पनि काम पूरा गर्न नसकेका ठेकेदारले फेरि म्याद थपका लागि निवेदन दिएका छन् ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकमा म्याद थपका लागि ठेकेदारले शुक्रबार निवेदन दिएका हुन् । ठेकेदार कम्पनीका तर्फबाट प्रतिनिधि केदार गिरीले फेरि ६ महिना म्याद थप्न निवेदन दिएका हुन् ।

यसअघि संझौताभित्र काम सम्पन्न नहुँदा सडक विभागले सार्वजनिक खरिद ऐन नियमावलीको नवौं संशोधनबमोजिम ७ महिनाको म्याद थप गरेको थियो । फेरि पनि म्याद थपका लागि निवेदन आएको पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकका इन्जिनियर अनुप साउदेनले बताए ।

गत असार २९ गतेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण प्रभावित भएका विकास निर्माणका योजनाको म्याद ६ महिना थप्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर अन्तिम पटक ६ महिनाको म्याद थप्न लागिएको इन्जिनियर साउदेनले बताए ।

काम शुरु भएको मितिदेखि हालसम्म २ वर्ष २ महिना बितिसकेको छ । अझै धेरै काम गर्न बाँकी छ । यद्यपि ठेकेदारले ७० प्रतिशत काम सम्पन्न भइसकेको दावी गरेका छन् । ‘कामले गति लिएको छ , अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ’ गिरीले भने,‘ बेस हाल्न शुरु भइसक्यो अब काम चाँडै सम्पन्न हुन्छ ।’

तर, ठेक्का लागेको ४ किलोमिटर सडकखण्डको कतिपय ठाउँमा अझै ढल बनिसकेको छैन । बिर्ताबजारको दुर्गा मन्दिर, बिर्तामोड नगरपालिका, एक किलोमिटर, विद्युत प्राधिकरण, बिर्तामोडको मुक्ति चौकलगायतका स्थानमा ढल निर्माण भइसकेको छैन ।

त्यस्तै डिभाइडर निर्माणको काम पनि बाँकी नै छ । त्यसबाट अझै समय लाग्ने देखिन्छ । सबैतिरबाट सहयोग पाएको खण्डमा र मौसमले साथ दिएमा थपिएको म्यादमा काम पूरा गर्ने गिरीले दावी गरे । उनले अरुतिरबाट सहयोग नपाएको गुनासो गरे ।

ठाउँ खाली नगरिदिँदा ढल निर्माण पूरा गर्न नसकिएको बताउँदै गिरीले विद्युत प्राधिकरणले पोल नसारिदिएको, पहिलाका ठेकेदार राजकिशोर गुप्ताले एक किलोमिटरमा बिग्रिएर थन्किएको ग्रेडर बाटोमै छोडेको, बिर्ताबजारको दुर्गा मन्दिर नसारिएकोजस्ता अप्ठ्याराले काममा सहजता नभएको जानकारी दिए ।

‘विजुलीको पोल सार्न प्राधिकरणलाई भनेको निकै भइसक्यो वास्ता छैन’ उनले भने ,‘ झन् त्यो बाटोमा राखेको ग्रेडर हटाउन भनेको त कति भयो कति भयो ।’ समयमा काम पूरा नहुँदा सदरमुकाम जाने सो सडकमा वर्षौदेखि यात्रुहरुले कष्ट झेल्नु परिरहेको छ ।

वर्षौदेखि अलपत्र पर्दा सडक पूर्णरुपमा निर्माण सम्पन्न हुने कुरामा अझै आशंका गर्छन् सर्वसाधारण । बिर्तामोडको मुक्ति चौकदेखि गरामनी बजारछेउसम्मको ४ किलोमिटर सडकखण्ड चार लेनको निर्माण गर्नका लागि आशिष प्रेरा जेभी कम्पनीले करसहित २७ करोड ९ लाख ७० हजार रुपैयाँमा ठेक्का पाएको हो । प्रतिदिनबाट