धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर ११ की ४३ बर्षीया महिला छिन् । उनको हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई बिहिबार कोभिड १९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले रिफर गरेको थियो ।

उनलाई हिजो शुक्रबार १० बजेर ४३ मिनेटमा वीपी प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई श्वास प्रश्वासमा कठिन थियो भने ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो । यस्तै, विगत ४ बर्षदेखि उनलाई उच्च रक्तचाप पनि भएको उनले जानकारी दिए ।

मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २२ पुगेको छ ।