झापा । झापाको बाह्रदशी गाउँपालिकामा २० वर्ष उमेर समूह माथिका धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ ।

२० जना कोरोना संक्रमितमध्ये एक बालक र एक महिला छन् । महिला २० वर्षमाथिको उमेर समूहकी हुन् । एक जना बालक बाहेक १९ जना संक्रमित नै २० वर्ष उमेर समूहमाथिका भएको बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये ‘ट्राभल हिस्ट्री’ नभएका समुदायका दुई जना व्यक्तिलाई कोरोना संक्रमण भए पनि उनीहरु निको भइसकेको र त्यसयता समुदायका कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण पुष्टि नभएको शाहको भनाई छ ।

समुदायमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने आंशकामा गाउँपालिकाले पालिकाभित्र रहेको सिटी र टेम्पो चालकको समेत पीसीआर परीक्षण गरेको छ । विशेषगरी भारत लगायत अन्य मुलुकबाट आएकाहरुमा संक्रमण देखिएकाले उनीहरुलाई छुट्टै क्वारेन्टिनमा राख्ने र स्वास्थ्य सावधानी अपनाएर कोरोना भाइरस कोभिड १९ को परीक्षण गर्ने गरिएको छ ।

हाल झापामा संक्रमितको संख्या ६४१ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४८१ जना रहेको उनले जानकारी दिए ।