झापा । झापाको झिलझिलेमा लेनदेन निहुँमा साथीको हत्या गर्ने अभियुक्त मनकुमार लिम्बुलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

अभियुक्त लिम्बु शिवसताक्षी–८ का ३२ वर्षका छन् । उनलाई प्रहरीले घटना भएको पर्सीपल्ट अर्थात शुक्रवार पक्राउ गरेको हो ।

शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको भदौ १६ गते झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर धाम जाने बाटोको छेउमा विभत्स हत्या भएको थियो । शब भदौ १७ विहान मात्र भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले आज अभियुक्तलाई सार्वजनिक गर्दै हत्यामा संलग्न लिम्बुले अपराध स्वीकार गरेको जनाएको छ ।

प्रहरीले दुबैबीच आर्थिक लेनदेनमा असमझदारी रहेको र घटना भएको साँझ साढे ६ बजेतिर अभियुक्तले बोलाएर गोमनसिंह मगरलाई हावा खान जाऔं भनी जंगलतिर लगेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

साथीको आग्रहमा मनकुमारलाई आफ्नै मोटरसाइकलमा पछाडि चढाएर गोमनसिंह विश्वासका साथ जंगलमा गएका थिए । तर, धोकेबाज मनकुमारले गुडिरहेको मोटरसाइकलमै पछाडि बसेर धारिलो छुरीले गोमनसिंहको गर्धन रेटेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तलाई जन्मकैदको सजाय माग गरी आइतवार झापा जिल्ला अदातलमा मुद्दा पेश गर्ने तयारी गरेको छ ।

घटनास्थल छेउछाउ प्रहरीले मृतकले चलाएको प्रदेश ०१-०१-१२ प ५२२५ नं को मोटरसाइकल, आइफोन, धारिलो छुरी र अभियुक्तले प्रयोग गरेको मोवाइल बरामद गरेको जनाएको छ ।

अभियुक्तले हत्या पश्चात मोटरसाइकललाई केही पर झाडीमा घिस्याएर छाडिदिएको, शबलाई नालीमा फालेको र मोवाइल तथा छुरीलाई खोलामा मिल्काएको प्रहरीको भनाई छ ।

प्रहरीले खोलामा फालिएका दसी प्रमाणहरु स्काभेटरले खोला थुनेर स्थानीयवासीको सहयोगमा खोजतलास गरी फेला पारेको थियो ।