खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा दुई वृद्धवृद्धा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय अन्दाजी ७८ वर्षीय वृद्ध दाजु र ६२ वर्षका वृद्धा बहिनी घरैमा मृत फेला परेका हुन्।
जंगल नजिकै एकान्त ठाउँमा घर भएका वृद्ध दाजुबहिनी शुक्रबार मृत फेला परेका हुन्। वृद्धवृद्धा दाजुबहिनीको मृत्युको विषयमा जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाको टोली शनिबार बिहान घट्नास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएका वृद्धवृद्धाको नाम प्रहरीले खुलाएको छैन। घट्नास्थल भोजपुरको सिमानामा पर्छ। घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको विस्तृत जानकारी प्राप्त गर्न कठिन भइरहेको छ।
घट्ना प्रकृति हेर्दा तीन, चार दिन अगाडि वृद्धवृद्धाको हत्या गरिएको अनुमान गरिएको घट्नास्थल पुगेका डिएसपी चिमोरियाले बताए। घट्नास्थलमा शुक्रबार साँझ लोकल प्रहरीको टोली पुगेको थियो।
‘भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्,’ डिएसपी चिमोरियाले भने, ‘विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ। अहिले अनुसन्धान जारी छ। आफन्तलाई पनि बोलाइएको छ।’