झापा । झापाकी एक कोरोना संक्रमित महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काई नगरपालिका –३ की ४५ बर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।
उनमा दुई दिनदेखि ज्वरो, स्वास प्रश्वासमा कठिन हुनुका साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
मधुमेहको रोगी समेत भएको उनी सुरुमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा गम्भीर समस्या भएपछि त्यहाँबाट भदौ १८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएपछि उपचार थालिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
योसँगै झापा कोभिड–१९ को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । यसअघि मृत्यु हुनेमा कमल गाउँपालिका र दमक नगरपालिकका १, १ जना छन् ।