झापा । बिएन्डसी हस्पिटलमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये एक जना अर्जुनधारा निवासी स्वास्थ्यकर्मी हुन् ।
बिएन्डसीबाट स्वाब संकलन गरिएका १४ जनामध्ये १२ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो । जसमा अर्जुनधारा वडा नम्बर १० की एक जना स्वास्थ्यकर्मी हुन् ।
घरबाटै ड्युटीमा जाने आउने गरेकी उक्त स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएपछि अर्जुनधारा नगर स्वास्थ्य शाखाको टोलीद्वारा उनको घर र आमने सामनेमा रहेको छिमेकीको एक घरलाई पनि सिल गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार आजदेखि नै संक्रमित स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको छ । उनकाे परिवार, छिमेकी र कन्ट्याकमा रहेका व्यक्तिको पाँच दिनपछि थ्रोट स्वाब संकलन गरिने भएको छ ।
पातलो बस्ती भए पनि आउजाउ धेरै भएकाले टोल नै सिल गर्नेबारे स्थानीय जनप्रतिनिधिसँग सरसल्लाह भइरहेको पनि उनले बताए ।
संक्रमित स्वास्थ्यकर्मीलाई बिएन्डसी हस्पिटलको आइसोलेशनमा राखिएको छ ।