बिर्तामोड । समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिर्तामोडमा थप जोखिम बढ्दै गएको छ । कोरोना संक्रमणबाट बच्न अपनाइएका उपाय कमजोर हुँदै गएपछि बिर्तामोडमा जोखिम थपिएको हो ।
सुनचाँदी व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना संक्रमण देखिएपछि समुदाय तहमा यसको फैलावट पुष्टि भएको थियो । त्यसयता समुदाय तहमा दैनिकजसो संक्रमणका घटना थपिँदै गएका छन्, बिर्तामोड नगरपालिकाको स्वास्थ शाखाले सार्वजनिक गरेको संक्रमितको तथ्यांकले पनि यसको पुष्टि गरेको छ ।
दुईजना महिला संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका र बजार क्षेत्रका व्यवसायीको पीसीआर परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये चारजना व्यवसायिक क्षेत्रका हुन् भने एकजना बैकका कर्मचारी छन् ।

यसअघि विर्तामोडको सिटी फाइनान्सका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता पनि बिर्तामोडमा समुदाय तहमा कोरोनाको संक्रमण बढ्दै गएको छ ।
आइतबारमात्रै बीएण्डसी हस्पिटलका १२ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि यसको फैलावट बढेको अनुमान स्वास्थ्य अधिकारीहरुले गरेका छन् । केही बिरामीमा पनि संक्रमण देखिएको छ ।
नगर क्षेत्रमा लगातार बढ्दै गएको संक्रमण रोक्न स्थानीय सरकारका तर्फबाट बिर्तामोड नगरपालिकाले कस्तो नीति अवलम्बन गर्छ भन्नेमा नगरवासी नागरिकको चासो छ ।
समुदायमा संक्रमण देखिएपछि बजारमा देखिएको भीडभाड नियन्त्रण गर्ने उपाय स्वरुप बजार पनि बन्द गरिएको थियो । तर, व्यवसायिक क्षेत्रले लामो समय बजार बन्द गर्दा व्यापारी मारमा परेको जनाउँदै बन्द गरेर मात्रै समस्याको समाधान नहुने अडान राख्दै आएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आइतबारसम्ममा बिर्तामोडमा ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय अटो रिक्सा चालकको समेत परीक्षण भएको र उनीहरूको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
कतिपयले बिर्तामोडमा समुदाय तहमा संक्रमण फैलिनुको कारण नागरिकले गरेको बेवास्तालाई मानेका छन् । बजारमा भीडभाड गर्ने, आवस्यक स्वास्थ्य मापदण्ड पूरा नगर्ने, मास्क नलगाउने जस्ता कारणले समुदाय तहमा संक्रमण बढेको अनुमान गरिएको विवेचना समाचार छ ।