फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि केही क्षेत्र सिल गरिएको छ ।
वडा नं २ खाम्बाङका एक जना व्यक्तिमा कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीसंग कन्ट्याक्ट ट्रेसिङ गरी शंकास्पद देखिएको व्यक्तिहरुको स्वाब परीक्षण गर्न वडा नं १ र २ सिल गरिने भएको हो ।
पाँचथरमा कार्यरत चार सुरक्षाकर्मी, एक कामदारसहित फाकफोकथुम वडा न २ निवासी ५३ वर्षीय एक व्यक्ति गरी छ जनाको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएको थियो । फाकफोकथुम–२ निवासी सङ्क्रमण पुष्टि भएका व्यक्ति प्रहरी कार्यालय पाँचथरको हिरासतबाट घर फर्किएका थिए ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले सूचना जारी गर्दै देउराली बजार दक्षिण, पुरानो पञ्चमी बजार, महाभारा पाँचथर सिमाना, घुर्विसे पञ्चमी, पचेवा खोला उत्तर फलाटे फाकफोक खोला पश्चिमसम्मका धार्नेखोप क्षेत्रमा सिल गरिएको जनाएका छन् ।
साविकको फाकफोकथुम गाविस क्षेत्रको वडा नं २ देखि ६ सम्मको क्षेत्रमा सोमबार रातिबाट अर्को सूचना प्रकाशन नहुन्जेलसम्म सिल गरिने भएको छ ।