झापा । कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालन गर्न थालेका छन् ।
पूर्वमा संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैँ आइसोलेसन निर्माणमा जुटेका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको थियाे ।
जिल्लामा समुदायस्तरमा समेत कोरोना देखिएपछि धेरैजसो पालिकाहरुले आइसोलेसन वार्डको व्यवस्थापन गरिसकेका छन् । जिल्लाका १५ स्थानीय तहमध्ये संक्रमितको संख्या बढी रहेका पालिकाहरुले आइसोलेसन निर्माण गरिसकेका छन् ।
यसैबीच, झापाको अर्जुनधारा नगरपालिकाले ४ नम्बर वडामा आइसोलेसन वार्ड स्थापना गरेको छ । स्वास्थ्य चौकी रहेको भवनमा नगरपालिकाको स्वास्थ्य शाखाले २५ बेडको आइसोलेशन वार्ड तयार गरेको हो ।
स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जनाए । ‘निर्देशिकाको मापदण्डअनुसार नै हामीले आइसोलेसनको व्यवस्था गरेका छौँ’, शाखा प्रमुख बस्नेतले भने, ‘एक संक्रमित, एक शौचालयदेखि स्वास्थ्य, सुरक्षाका सबै व्यवस्था हाम्रो आइसोलेसनमा छ ।’
सकेसम्म सबैलाई एक एक वटा शौचालय उपलब्ध गराउने उद्देश्यले शौचालय निर्माण भइरहेको छ भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । आइसोलेशनका लागि नगरपालिकाले ८ जना स्वास्थ्यकर्मी करारमा नियुक्ति गर्नका लागि सूचना जारी गरिसकेको उनले बताए ।
यो भवनमा यसअघि १२ बेडको क्वारेन्टाइन सञ्चालन गरिएको थियो । चैत ११ गते लकडाउन हुनासाथ भोलिपल्ट यसै भवनलाई माथिल्लो तलामा क्वारेन्टाइन सञ्चालन गरिएको थियो ।
यसअघि दमक अस्पताल र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको थियो । झापाका स्थानीय तहहरूले शङ्कास्पद कोरोना सङ्क्रमणका बिरामीलाई भद्रपुरस्थित मेची अञ्चल अस्पताल र दमकको दमक र आम्दा अस्पतालमा पठाउँदै आएका थिए ।
संक्रमितहरुलाई भने प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन र अस्पतालमा पठाउने गरिएको थियो । अहिले भने संक्रमितलाई सम्बन्धित पालिकाको आइसोलेसनमा र लक्षणसहितका संक्रमितलाई मेची प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा राखिन थालिएको छ ।